टी१० ब्रान्ड नेपाली क्रिकेट टोलीको आधिकारिक एपरेल पार्टनर बनेको छ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भाटभटेनी होल्डिङ कम्पनी प्रालि छनोट गरेको छ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी गराएको हो। सम्झौताअनुसार भाटभटेनी समूहले आगामी २ वर्षसम्म नेपालका पुरुष, महिला तथा उमेर समूहका राष्ट्रिय क्रिकेट टोलीहरूको जर्सी प्रायोजन गर्नेछ।
टी१० ब्रान्डले टोलीलाई उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास क्यानको छ।
नेपाली पुरुष क्रिकेट टोलीको नयाँ जर्सी केही दिनअघि सार्वजनिक भइसकेको छ, जसमा टी१० को आधिकारिक ब्रान्ड लोगो पनि समावेश छ।
