नेपाली क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा सहभागी हुन १४२ खेलाडीले नाम दर्ता गराएका छन्।
आगामी आइतबार हुने अक्सनका लागि क्यानले असोज १२ गतेसम्मको समयसमीता तोकेर खेलाडी दर्ताका लागि सूचना निकालेको छ। जसमा खेलाडीले आफ्नो जुनसुकै ग्रेडमा दर्ता गर्न पाउने थिए।
क्यानका अनुसार अक्सनका लागि ग्रेड ‘ए’ मा २७ खेलाडीले नाम दर्ता गराएका छन्। जसमा विनोद भण्डारी, दिलिप नाथदेखि साहब आलम, नन्दन यादवसम्मले नाम दर्ता गराएका छन्।
यस्तै, ग्रेड ‘बी’ ३८ खेलाडीले नाम दर्ता गराएका छन् भने ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन्।
अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।
अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ।
सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डौं गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन् । यी सबै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।