पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट बिक्री सुरु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार रातिबाट बिक्री सुरु गरिएको हो। खल्ती एप्समार्फत अनलाइनबाट टिकट किन्न सकिने छ।
मंसिर १५ देखि पुस ६ गतेसम्म हुन् प्रतियोगिताका लागि क्यानले विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलका लागि टिकटदर साधरणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकेको छ।
यस्तै, अन्य दिनको लिग चरणका लागि ३ सय र ५ सय रुपैयाँ मूल्य तोकिएको छ। एउटा टिकले दिनका दुवै खेल हेर्न पाइनेछ।
प्लेअफका खेलको टिकट दर ५ सय र ७ सय रुपैयाँ निर्धारण गरिएको छ भने फाइनलको ५ सय र १ हजार रुपैयाँ मूल्य तोकिएको छ।
यस्तै, क्यानले सिजनल टिकटको साधारणतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ। सिजनलमा २० प्रतिशत छुट दिइएको जनाइएको छ।