बसिस्टो र गुल्सनको उत्कृष्ट प्रदर्शनमा पोखरामाथि कर्णालीको जित, प्लेअफ सम्भावना बलियाे

10 Dec, 2024
Share:
117 Shares

विलियम बसिस्टो र गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो जित निकालेको छ। मंगलबार टियू मैदानमा भएको खेलमा वसिस्टो र गुल्सनको प्रदर्शन मद्दतमा कर्णालीले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित निकाल्यो।

पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। उसका लागि गुल्सान झाले सर्वाधिक ४९ रन बनाए। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, चाडविक वाल्ट्नले ३४ बलमा ६ चौका र १ छक्का मद्दतमा ४२ रन बनाए। गुल्सन र वाल्टनले तेस्रो विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

बलिङ पोखराका विपिन खत्री, सागर ढलका र कुशल भुर्तेलले समान १ विकेट लिए।

विलियम बसिस्टोले घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमै अलआउट भयो। उसले ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत गराएका थिए। उसले पछिल्ला ७ विकेट केवल २९ रन जोड्दा गुमाएको थियो।

पोखराका लागि दिनेश खरेललले सर्वाधिक २६ रन बनाउँदा आन्द्रे गौसले २५, रेमोन रेइफरले २०, कुशल भुर्तेल र विपिन खत्रीले १० रन बनउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पोखराको इनिङ धरासयी बनाउने क्रममा बसिस्टले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए। यो एनपिएलकै उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १ विकेट लिए।

यो जितसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ। ५ खेलमा ३ जितसहित कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। बाँकी २ खेलमध्ये १ खेलमा जित निकालेको कर्णाली प्लेअफ पुग्न सक्नेछ।

यता, चार खेलमा तेस्रो हारसँगै पोखरको प्लेअफ सम्भावना भने कठीन बनेको छ।