नेपाल सुपर लिग : पोखराको टिम सबैभन्दा महँगोमा बिक्यो, क–कसले किने टिम?

6 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान) आफैंले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी क्रिकेट ‘नेपाल सुपर लिग (एनपिएल)’को टिम बिक्री गरेको छ।

क्यानले एनपिएलका ८ टिम खुला बिडिङमार्फत बिक्री गरेको छ। बिडिङमार्फत ८ वटा फ्रेन्चाइजी टिम कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ। फ्रेन्चाइजी टिमका किन्नका लागि १६ वटा आवेदन परेको थियो।

त्यसमध्ये पोखराको टिम सबैभन्दा महँगो मूल्यमा बिकेको छ। नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाखमा पोखराको स्वामित्व लिएको छ।

त्यसपछि काठमाडौं टिम पनि ३ करोडमाथिमा बिक्यो। काठमाडौंलाई कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा किनेको छ्।

यस्तै, जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले २ करोड ५ लाखमा पाउँदा लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको छ।

इम्पायर स्पोटर्सले सुदूरपश्चिम टिमको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा पाउँदा चितवनको टिम चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार रुपैयाँमा किनेको छ।

यस्तै, विराटनगरको टिम एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा किन्दा कर्णालीको टिम सबैभन्दा कममा बिक्यो। कर्णालीको स्वामित्व हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा पाएको छ।

मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन्।