नेपाल प्रिमियर लिगको अक्सन आज हुँदै छ नेपाल क्रिकेट संघ ९क्यान०ले काठमाडौंमा आयोजना गर्ने अक्सनबाट सहभागी ६ टिमले समान १० जना खेलाडी खरिद गर्नेछन्। एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन् । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुनेछ ।
मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ ।
क्यानले बिहीबार नै सहभागी ६ टिम अक्सनबारे जानकारी गराएको थियो । त्यसमा एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउनेछ । नियमानुसार श्रेणी ‘ए’को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतमको १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ ।
‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य ५ लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् ।
पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन । आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो । नेपाल टी–२० लिगलाई आइसिसी, राखेप र सिआइबीले छानबिन गरेका थिए ।
