पारस खड्का भन्छन्– सामाजिक सञ्जालमा महिला क्रिकेटरको आलोचना होइन, निरन्तर हौसला दिऔं

19 May, 2025

नेपाली महिला क्रिकेट टिम इतिहासमै पहिलो पटक महिला टि–२० विश्वकपको ग्लोबल छनोटमा भएको छ। थाइल्यान्डमा जारी एसिया छनोटको सोमबार भएको खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो।

नेपाली टिम ग्लोबल छनोटमा पुगेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली महिला टिमप्रति गहिरो सम्मान र समर्थन व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले उनले नेपाली महिला क्रिकेटरहरूको संघर्ष र समर्पणलाई प्रशंसा गरे।

महिला खेलाडीहरूले सामाजिक दबाबलाई बेवास्ता गर्दै जीवन खेलकुदमा समर्पित गर्नु सजिलो कुरा नभएको उल्लेख गर्दै पारसले महिला क्रिकेटरलाई सामाजिक सञ्जालमा आलोचना गर्नुको सट्टा निरन्तर हौसला दिनुपर्ने बताएका छन्।

‘क्रिकेट खेलेर के हुन्छ र?’ भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता छ,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ, तर मैदानमा दौडिनु त्यति सजिलो छैन।’

उनले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर, राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो कुरा नभएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्।’

महिला टोलीको पछिल्लो सफलताको सन्दर्भ दिँदै उनले लेखेका छन्, ‘नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो। अडिग भएर अघि बढ्नुस्। आगामी दिनहरूका लागि हाम्रो राष्ट्रिय महिला क्रिकेट टोलीलाई हार्दिक शुभकामना।’

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]