विनोद भण्डारीको शतकमा आर्मीको जित, फाइलन पुग्ने सम्भावना बलियो

28 Jan, 2024

कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनको फराकिलो अन्तरले हरायो।

यो जितसँगै आर्मीको फाइनल पग्ने सम्भावना बलियो बनेको छ। ७ खेलमा १० अंक जोड्दै आर्मी चौथो स्थानमा उक्लिएको छ। अब बाँकी २ मध्ये एक खेलमा जित हात पारे आर्मी फाइनल पुग्ने छ। यता, कर्णालीले भने ६ अंकसहति सातौं स्थानमा छ।

आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा ११५ रनमा अलआउट भयो। उसका लागि हिमान्शु शाहीले सर्वाधिक १९ र दिवान पुनले १८ रन बनाए। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कुशल मल्ल र विवेक यादवले समान ३ विकेट लिए। यस्तै, सोमपाल कार्मीले २ तथा साहब आलमले १ विकेट लिए।

पहिला ब्याटिङ गरेको आर्मीले विनोद भण्डारीको शतकमा ५ विकेटको क्षतिमा २७९ रन बनाए। विनोदनले १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १ सय रन बनाए। जारी प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो। योसँगै उनी प्रधानमन्त्री कपमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

आर्मीका लागि विनोदसँगै वासिर अहमदले पनि उत्कृष्ट ब्याटिङ गरे। उनी ९२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ९८ रनमा नटआउट गरे। विनोद र वासिरले छैठौं विकेटका लागि १६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यी दुईबाहेक भीम सार्कीले २५ र कुशल मल्ले २१ रन बनाए।

कर्णालीका दीपेन्द्र रावतले २ तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान १ विकेट लिए।