रसिदको शतकमा बागमतिमाथि पुलिसको जित

13 Jan, 2024

आजका सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। कीतिपुरस्थित टियू मैदानमा भएको खेलमा रसिद खानले शतक प्रहार गरेपछि पुलिसले बागमति प्रदेशलाई ६८रनले हरायो।

२८३ रनको लक्ष्य पछ्याएको बागमति ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि आसुतोष घिरैयाले सर्वाधिक ९२ रन बनाए। उनले ८७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै इशान पाण्डेले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि १७.१ ओभरमा ९६ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, मध्यक्रम चल्न नसक्दा बागमति पराजित भयो। उसका सोनु देवकोटाले १९ र विपिन आचार्यले १७ रन बनाए।

बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, रसिद खान र करण केसीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले रसिदको शतक मद्दतमा ८ विकेटको क्षतिमा २८२ रन बनायो। ७२–५को नाजुक अवस्थामा रहेको पुलिसलाई रसिद र आरिफ सेखले शतकीय साझेदारी गर्दै १९२–६को अवस्थामा ल्याएका थिए।

नटआउट रहेका रसिदले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १०६ रन बनाए भने आरिफले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। यस्तै, कप्तान दीपेन्द्रले २१, अर्जुन साउद र सुनिल धमालले समान २० रन बनाए।

बागमतिका सूर्य तामाङ र रिजन ढकालले समान २ विकेट लिँदा गौतम केसी र सोनु देवकोटाले समान १ विकेट लिए।