रोहित र रमेश चम्किँदा लुम्बिनीमाथि एपिएफको जित

25 Jan, 2024

रोहित पौडेल र रमेश कुर्मीले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपिएफ क्लब विजयी भएको छ। बिहीबार भैरहवामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हरायो।

लुम्बिनीले दिएको १३४ रनको सामान्य लक्ष्य एपीएफले रोहितको अर्धशतक मद्दतमा २२.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टयो। रोहितले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाए। यस्तै, पुरन बिक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाए।

लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १३३ रनमै अल आउट भयो। उसका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए भने ओपनर मिर्नल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे।

यस्तै, विराट भण्डारी ५१ बलमा २३ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेन्। लुम्बिनीको इनिङ धरासयी बनाउने क्रममा स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए। यस्तै भुवन कार्कीले ३ विकेट लिए।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ। पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ। योसँगै भैरहवामा पिएमकपका खेलहरु सकिएका छन्।