त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मीले पुलिस क्लबसँगको फाइनल भीडन्त पक्का गरेको हो।
आर्मी लिगमा दोस्रो हुँदै फाइनल पुगेको हो। आर्मीले ९ मध्ये ७ खेल जित्यो। उपाधि भीडन्त शनिबार हुनेछ।
१३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमै अल आउट भयो। कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् ।
गण्डकीका लागि ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
गण्डकीको इनिङ धरासायी बनाउने क्रममा स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए। यस्तै, जितेन्द्र मुखिया र कुशल मल्लले समान २ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले पनि राम्रो ब्याटिङ गर्न सकेन। आर्मी ३९.१ ओभरमा १३२ रनमै अलआउट भयो। उसका इमरान शेखले ३४, सोमपाल कामीले २३, कप्तान विनोद भण्डारीले १९ र कुशल मल्लले १५ र साहब आलमले १२ रन बनाए।
आर्मीलाई सस्तैमा रोक्ने क्रममा विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २ विकेट लिए।