काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा विभागीय टिम एपिएफ र कोशी प्रदेशले जितको यात्रालाई निरन्तरता दिएका छन्। दुवै टिमले प्रतियोगितामा लागातार तेस्रो जित निकालेका छन्।
आइतबार बिहान भएको खेलमा एपिएफले इन्दु बर्माको उत्कृष्ट प्रदर्शन मद्दछमा लुम्बिनी प्रदेशलाई ९० रनले हरायो।
१५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन मात्र बनाउन सक्यो । उसका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौका प्रहार गरिन् ।
अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। एपिएफकी इन्दु वर्माले ३ तथा विनु बुढाले २ विकेट लिइन्।
त्यसअघि पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो। उसका लागि इन्दु वर्माले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाइन्।
त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन्। लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक विकेट लिए।
आइतबार नै भएको अर्को खेलमा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले हरायो। कोशी दिएको १३० रनको लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा नौ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।
मधेशका लागि साना प्रविनले ४१ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाइन् भने आरती महतोले २० बलमा चार चौकासहित १८ रन बनाइन्।
कोशीका लागि सबनम राई र एलिसा खडियाले समान दुई विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला व्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १२९ रनको योगफल बनाएको थियो।
उसका कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन्। उनले ६४ बलमा नौ चौका प्रहार गरिन्। अप्सरी बेगमले ३९ रन बनाउँदा सबनम राईले अविजित १६ रन जोडिन ।
बलिङमा मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पुजा महतो र सरस्वती चौधरीले समान एक–एक विकेट लिए ।
राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगितामा एपिएफ शीर्ष स्थानमा छ भने कोशी रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।