पिएम कपमा कोशीको लागतार साताैं हार, गण्डकीले बागमतीलाई हरायो

23 Jan, 2024

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले लागतार साताैं हार व्यहोरोको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी कर्णाली प्रदेशसँग ६ विकटले पराजित भयो। कर्णालीको भने यो तेस्रो जित हो।

कोशीले दिएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेटको क्षतिमा गुमाएर भेट्टायो। कर्णालीलाई जिताउन अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले। ५० रनमा नटआउट रहेका उनले ६ चौका र २ छक्का हाने।

यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे। कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए।

पहिला ब्याटिङ गरेको कोशी ३४.३ ओभरमा १५१ रनमै अलआउट भयो। उसका सुजन थपलियाले ७३ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। सुजनले ७३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।

यस्तै, अर्को खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित निकाल्यो। गण्डकीले बागमतीलाई ३ विकेटले हरायो।

गण्डकीसँगको हारले बागमतीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

जितको लागि पाएको १९९ रनको मध्यम विजयी लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका करन पंगेनीले ९८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको एक उत्कृष्ट इनिङ खेले।

यस्तै, ईश्वर क्षेत्रीले ३६ र मुस्कान थापाले २७ रनको योगदान दिए। बागमतीका प्रतिश जिसीले २ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा अल आउट भएको थियो। उसका आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए।

ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । बागमतीका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। गण्डकीका कमल परियार ४ तथा विपिन खत्री र अमृत गुरुङले समान २ विकेट लिए।

बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ ।

पुलिस ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । मधेश ६ खेलमा ८ अंक्का साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।