तीव्र गतिका बलर सोमपाल कामी र कप्तान विनोद भण्डारीले राम्रो प्रदर्शन गर्दा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ।
लगातार तेस्रो हारले साविक विजेता एपीएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना भने कठिन बनेको छ।
जितको लागि १२२ रनको विजयी लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। आर्मीको जितमा विनोद भण्डारी ४० बलमा ४ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे।
यस्तै, कुशल मल्ल १९, बसिर अहमद १८, ओपनर इमरान शेख १६ र सन्तोष कार्की ११ रन बनाए। एपीएफका रमेश कुर्मीले २, श्याम ढकाल र रोहित पौडेलले १–१ विकेट लिए।
पहिला ब्याटिङ गरेको एपिएफ ३२.४ ओभरमा १२१ रनमा अलआउट भयो। एपिएफका कप्तान रोहित पौडेलले १०३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए।
यस्तै, भुवन कार्की १६ र सुमित महर्जनले १४ रन बनाए। आर्मीका सोमपाल कामीले ३ तथा अभिनाश कर्ण २ विकेट लिए।
आर्मी ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ। एपीएफ ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ।