पिएम कपमा पुलिसका लागतार पाँचौं जित, फाइनल सम्भावना बलियो

24 Jan, 2024

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौं जित हात पारेको छ। लगातार पाँचौं जितले पुलिसको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसलो १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसको जितमा सुनिल धमलाले २७ बलमा ३ चौका र २ छक्कासहित २८ रन बनाए।

त्यस्तै कुशल भुर्तेलले २३ बलमा २ चौका र १ छक्कासहित १९, अर्जुन साउद ७, दीलिप नाथ ४, अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रन बनाए। मधेशका अरनिको यादव र रञ्जित कुमारले २–२ विकेट लिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भएको थियो।

मधेशका कप्तान हरिशंकर साहले ३३ बलमा ४ चौकासहित २२ तथा अरनिको यादवले २६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएका थिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसलाई जिताउन स्पिनर सागर ढकालले ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट लिए।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । पुलिसले शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीसँग खेल्नेछ। मधेश ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । मधेशले भोलि बिहीबार गण्डकीसँग त्रिविमै खेल्ने छ।