पिएम कपमा एकै खेलमा ब्याट्म्यान र बलरले बनाए शतक

25 Jan, 2024

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत बिहीबार टियू मैदानमा एकै खेलमा दुई शतक बनाए। मधेश प्रदेश र गण्डकी प्रदेशबीचको खेलमा ब्याट्सम्यान र बलर दुवैले शतक बनाएका हुन्।

खेलमा मधेशका विकेटकिपर ब्याट्सम्यान अनिल शाहको शतकले ब्याटबाट शतक बनाउँदा गण्डकीका कृष्ण पौडेलले बलिङमा शतक बनाएका हुन्।

मधेशका अनिल साहले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको शानदार शतकीय इनिङ खेले। अनिलले स्पिनर सन्दीप पराजुलीलाई ३१औं ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै १०४ बलमा शतक पूरा गरेका थिए।

अनिल स्पिनर कमल परियारको बलमा स्टेटमा सट खेल्ने धुनमा लङअनमा कृष ऐरबाट क्याच आउट भए।

गण्डकी प्रदेशका तीव्र गतिका बलर कृष्ण पौडेलले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध बलिङमा १०० रन खाएका छन् । पीएमकप इतिहासकै खराब बलिङ गर्दै उनी एकै खेलमा १०० भन्दा बढी रन खर्चिने पहिलो बलर बनेका छन् ।

कृष्णले १० ओभरमा १ सय १७ रन खर्चेर १ विकेट लिए । उनले सुरुवाती ८ ओभरमा उनले ७४ रन खर्चेका थिए । ४८ औं ओभरमा तीन चौका, चार वाइड र एक छक्कासहित कुल २३ रन खर्चेका थिए । अन्तिम ओभरमा दुई चौका र १ छक्कासहित कुल २० रन खर्चेका थिए ।

यसअघि पीएमकपमा एकै खेलमा सर्वाधिक रन बागमतीका सूर्य तामाङ र सुदूरपश्चिमका नारायण जोशीले समान ९१ खर्चेका थिए । सूर्यले २०१९ मा आर्मीविरुद्ध तथा नारायणले यसै प्रतियोगितामा मधेशविरुद्ध त्रिवि क्रिकेट मैदानमा उक्त रन दिएका थिए ।