सूर्यको घातक बलिङमा बागमतीको जित, फाइनल आशा कायमै

27 Jan, 2024

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा सूर्य तामाङले घातक बलिङ गरेपछि बागमती प्रदेश विजयी भएको छ। सूर्यले ६ विकेट लिएको खेलमा बागमतीले लुम्बिनी प्रदेशमाथि ६ विकेटकै जित निकाल्यो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। बागमतीका इशान पाण्डेले ५० रनको अर्धशतकिय पारी खेले। इशानले ५४ बलमा ५ चौका र २ छक्का प्हार गरे।

यस्तै, कप्तान रित गौतमले २४ र आशुतोष घिरैयाले १४ रन बनाए। लुम्बिनीका निर्मल गुरुङले २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी सूर्यले ६ विकेट लिएपछि ३२.२ ओभरमा १०६मा अलआउट भयो।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा बागमतीका सूर्य तामाङले ६ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित २६ रन मात्र खर्चिए। जारी प्रतियोगितामा ९ खेलमा ३० विकेट लिएका छन्। खेलमा विपिन आचार्यले २ विकेट लिए।

लिगको अन्तिम खेलमा जितपछि बागमती १२ अंकसहित दोस्रो स्थानमा छ। उसको फाइलन खेल्ने सम्भावना बाँकी नै छ। त्यसका लागि आर्मी र सुदूरपश्चिम कम्तिमा २ र एपिएफले एक खेल हार्नुपर्ने छ। अपराजित रहेको पुलिस ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ।