धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशले सानदार जित निकालेको छ। फाप्ला क्रिकेट मैदाना जारी प्रतियोगितामा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्यो।
सुदूरपश्चिमले ९ बलमै जित निकालेको हो। यो जारी प्रतियोगिताको सबैभन्दा थोरै बलमा निस्किएको जित हो।
बाक्लो हुस्सुको कारण खेल ५ ओभरमा छोट्याइएको थिया। जसमा पहिला ब्याटिङ गर्दै कर्णालीले ७ विकेटको क्षतिमा २० रन मात्र बनाउन सक्यो। उसका कुनै पनि ब्याट्सम्यानमा दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा सुदूरका आसिका महराले ३ तथा कविता कुँवरले २ विकेट लिए।
२१ रनको लक्ष्य सुदूरले ९ बलमै भेट्टायो। उसका कविता कुँवरले १४ र मनिषा बोहराले ५ रन बनाइन्।
जारी प्रतियोगितामा सदूरपश्चिमको यो लागतार तेस्रो जित हो। यो जितसँगै ऊ समूह एबाट सुपर फोरमा प्रवेश गरेको छ।
यही समूहको अर्को खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनीले पनि सुपर फोर सम्भावना कायमै राखेको छ। उसले गण्डकीमाथि ६ विकेटको जित निकाल्यो।
गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ६ विकेको क्षतिमा भेट्टायो। उसका लागि सरस्वती पुनले सर्वाधिक ३१ रन बनाइन् भने रञ्जु श्रेष्ठले २० र अंगी पाठकले १८ रन बनाइन्। बलिङमा गण्डकीका अपेक्षा बुढाथोकीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ६ विकेटको क्षतिमा ९७ रन बनायो। उसका सलिना सेनले ३३ रन बनाउँदा रेखा तामाङले २५ रन बनाए। बलिङमा लुम्बिनीका मनिषा रानाले २ विकेट लिइन्।
जितसँगै लुम्बिनी ३ अंकसहित तेस्रो स्थानमा छ। गण्डकीको भने १ अंक मात्र छ।