सन्दीप जोराले शतक प्रहार गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपिएफले विजयी सुरुआत गरेकोछ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकाल्यो।
एपिएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमै अलआउट भयो। उसका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। उनले ८९ बलमा ८ चौका प्रहार गरे। यस्तै, आशुतोष घिरैयाले ४१, रविन जोशीले २० र विवेक मगरले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका कप्तान रोहितकुमार पौडेलले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित २६ रन मात्र खर्चिए। यस्तै, मौसम ढलका र अविनाश बोहराले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले सन्दीपको शकतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनायो। सन्दीपले ११७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गर्दै ११२ रन बनाए। यस्तै, लोकेश बमले २७ र अमरसिंह रौटेलाले २२ रनको योगदान दिए,
बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान १ विकेट लिए।
प्रतियोगितामा एपिएफको यो पहिलो जित हो भने बागमतीको लागतार दोस्रो हार हो। पहिलो खेलमा बागमती पुलिस क्लबसँग पराजित भएको थियो।