रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा पिएम कपमा एपिएफको लागतार दाेस्राे जित

15 Jan, 2024

रोहित पौडेलल अलराउन्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपिएफले लागतार दोस्रो जित निकालेको छ। सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो।

खेलमा कप्तान रोहितले ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा ३ विकेट लिए।

कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य एपिएफले १९.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै, प्रज्वल साहीले २२ र सुमित महर्जनले २० रन बनाए।

कोशीका फिर्दोश अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोशी४४.३ ओभरमा १३५ रनमै अलआउट भयो। उसका लागि फिर्दोश अन्सारीले अर्धशतक बनाए। उनले ८५ बल खेल्दै ८ चौका मद्दतमा ५५ रन बनाए। यस्तै, सोनु अन्सारीले ४४ बलमा २० रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका अविनाश बोहरा र रोहितले समान ३ विकेट लिए। अविनाशले ८.३ ओभरमा १३ रन खर्चिए भने रोहितले ७ ओभरमा २४ रन खर्चिए । यस्तै, अमरसिंह रौटेलले पनि २ विकेट लिए।

प्रतियोगितामा एपिएफले अलगातार दोस्रो जित निकाल्दा कोशीको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो भने कोशी पुलिस क्लबसँग पराजित भएको थियो।