बागमती र सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा पुगेको छ। बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै बागमतीले प्लेफमा स्थान पक्का गर्दा बागमतीको जितले हारेर पनि सुदूरपश्चिम प्लेअफ पुग्यो।
बिहीबार नै भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो। योसँगै प्रतियोगितामा प्लेअफ पुग्ने चारै टिमको टुंगो लागेको छ। बागमती र सुदूरपश्चिमसँगै एपिएफ र कोशी पनि प्लेअफ पुगेका छन्।
बिहीबार कर्णाली प्रदेशले दिएको ४३ रनको झिनो लक्ष्य बामगतीले विनाक्षतिमा ४.५ ओभरमै पूरा गर्यो। बागमतीका यशु पाण्डेले नटआउट २५ रन र हेलिसा गुरुङले नटआउट १३ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १३।४ ओभरमा ४२ रनमै अलआउट भयो। उसका विना थापाले १२ रन र शुरती बुढाले १६ रन बनाए। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा बागमतीकी खुसी डंगोलले ४ विकेट लिइन्। सस्कृति फुयालले २ विकेट लिए।