पिएम कपमा लुम्बिनीले कर्णालीलाई हरायो, कर्णाली अझै जितविहीन

25 Dec, 2023

काटमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णालीलाई ३० रनले पराजित गरेको छ। जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।

कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन्। त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन्। अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन्। तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन्।

लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुईरदुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एकरएक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो।

लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गंगा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन्। चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन्। सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तिर्सना विश्वकर्माले समान एकरएक विकेट लिए।

लुम्बिनीको यो दोस्रो जित हो। लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो। यता कर्णालीको यो लगातार चौथो हार हो। कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो।