नेपाली महिला क्रिकेट यू–१९ की कप्तान पूजा महतो र सिनियर टिमकी सदस्य कविता कुँवर निर्माणधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
एक्स्ट्राटेक ओभलले आइतबार महतो र कुँवरलाई आगामी २ वर्षका लागि एम्बासडर नियुक्त गरेको हो। तिलोत्तमा(–१७ स्थित क्रिकेट मैदान परिसरमा खेलाडीद्वय र एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुवँरले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौतापश्चात् खेलाडी महतोले यू–१९ को टिम छनोटका लागि एक्स्ट्राटेक ओभल मैदानमा गरिएको क्लोजक्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गरिन्। उनले यो नियुक्तिले आफूलाई हौसला थपेको र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको बताइन्।
क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बासडर बनेको बताए। उनले यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा निर्देशक कुवँरले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको बताए। उनले युवा खेलाडीले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाँजोमा पुग्न सक्ने भएकाले महिला खेलाडीलाई हौसला प्रदान गर्न एम्बासडर नियुक्त गरेको बताए।