युएईमा जारी दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज अफगानिस्तानले जितेको छ।
३ खेलको सिरिजको दोस्रो खेलमा शुक्रबार राति दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले हराउँदै अफानिस्तानले सिरिज जितेको हो। यो जित अफगानिस्तानले एकदिवसीय क्रिकेटमा पाएको सबैभन्दा फराकिलो जित हो।
यसअघि पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो। यो ऐतिहासिक सिरिज हो। उसले आईसिसी वरियतामा शीर्ष ५मा रहेको टिमविरुद्ध पहिलो पटक सिरिज जितेको हो।
यस्तै उसले यो १३औं पटक एकदिवसीय सिरिज जितेको हो। यसअघि उसले जिम्बाबेविरुद्ध ५, आयरल्यान्डविरुद्ध ४, स्कटल्यान्डविरुद्ध २ र बंगलादेश र नेदरल्यान्ड्सविरुद्ध समान १ सिरिज जितेको थियो।
अफगानिस्ताले दिएको ३१२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका बर्थ डे बोइ रसिद खानले घातक बलिङ गरेपछि ३४.२ ओभरमा १२४ रनमै अलआउट भयो। उसका लागि कप्तान टेम्बा बावुमाले सर्वाधिक ३८ रन बनाउँदा टोनी डे जोर्जीले ३१, एइडन मारक्रमले २१ र रिजा हेन्ड्रिक्सले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
दक्षिण अफ्रिकाको इनिङ धरासायी बनाउने क्रममा रसिदले ९ ओभरमा १९ रन मात्र खर्चेर ५ विकेट लिए भने नान्गेयाली खरोटेले ४ विकेट लिए। जन्मदिनमा एकदिवसीयमा ५ विकेट लिने रसिद पहिलो खेलाडी बनेका छन्।
त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले रमनुल्लाह गुर्बाजको शतक मद्दतमा ४ विकेटको क्षतिमा ३११ रन बनायो। गुर्बाजले ११० बलमा १० चौका र ३ छक्का मद्दतमा १०५ रन बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं शतक लगाएका गुर्बाज सर्वाधिक शतक बनाउने अफगान खेलाडी बनेका छन्।
यस्तै, अज्मतुल्लाह ओमरजाइले ५० बलमा ५ चौका र ६ छक्का मद्दतमा ८६ रन बनाउँदा रहमत साहले ६६ बलमा ५० रन बनाए।
बलिङमा दक्षिण अफ्रिकाका लुंगी एनगिदी, नान्द्रे बर्गर, निकाबोजी पिटर र मारक्रमले समान १ विकेट लिए।
अब सिरिजको अन्तिम खेल आइतबार सारजाहमा हुनेछ।