आरसिबीले १७ वर्षपछि चेन्नईलाई उसकै मैदानमा हरायो

29 Mar, 2025

आईपिएलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले लागतार दोस्रो जित निकालेको छ। शुक्रबार राति चेपकमा भएको खेलमा आरसिबीले चेन्नाईसुपर किंग्सलाई उसकै मैदानमा ५० रनले हरायो।

उसको यो लागता दोस्रो जित हो। पहिलो खेलमा उसले कोलकातालाई उसकै मैदानमा हराएको थियो। यता, आरसिबीले चेन्नाईलाई उसकै मैदानमा हराएको १७ वर्षपछि पहिलो पटक हो। उसले पहिलो सिजन यहाँ चेन्नईलाई हराएको थियो। तर, त्यसयता चेपक लगातार ७ हार ब्यहोरेको थियो।

आरसिबीले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो। उसका लागि रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए भने महेन्द्र सिंह धोनीले ३०, रविन्द्र जडेजाले २५ र शिवम दुवेले १९ रन बनाए।

बलिङमा आरसिबीका जोश हेजलउडले ३ तथा यश दयाल र लिअम लिभिङ्टनले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको आरसिबीले कप्तान रजत पटिदारको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। उसका लागि पटिदारले ३२ बलमा ४ चौका र ३ छक्का मद्दतमा ५१ रन बनाए।

यस्तै, फिल सल्टले १६ बलमा ३२ रन बनाउँदा विराट कोहलीले ३० बलमा ३१, देवदत्त पाटिकलले १४ बलमा २७ र टिम डेविडले ८ बलमा २२ रन बनाए।

बलिङमा चेन्नईका नूर अहमदले ३ तथा मथिसा पथिरानाले २ विकेट लिए।