रोयल च्यालेन्जर्स बेंग्लुरुको आईपिएलको प्लेअफ नजिक पुगेको छ। शनिबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेपछि बेंग्लुरु प्लेअफ नजिक पुगेको छ।
यो जितपछि ११ खेलमा १६ अंक जोड्दै बेंग्लुरु शीर्ष स्थानमा उक्लिएको छ। यता, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको चेन्नई ११ खेलमा २ खेल मात्र जित्दै ४ अंकसहित पुछारमा छ।
पहिला ब्याटिङ गर्दै बेंग्लुरुले दिएको ११४ रनको लक्ष्य पछ्याएको चेन्नाईले ५ विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो। उसका लागि युवा ओपनर आयुष मात्रेयले सर्वाधिक ९४ रन बनाए। उनले ४८ बलमा ९ चौका र ५ छक्का प्रहार गरे।
उनले तेस्रो विकेटका लागि रविन्द्र जडेजासँग ११४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। नटआउट रहेका जडेजाले ४५ बलमा ८ चौका र २ छक्का मद्दतमा ७७ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।
बलिङमा बेंग्लुरुका लुंगी एनगिदीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने क्रुनाल पाण्ड्या र यश दयालले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बेंग्लुरुले अन्तिम २ ओभरमा ५४ रन बनाए पछि ५ विकेटको क्षतिमा ११३ रन बनायो। यो आईपिएल इतिहासमा अन्तिम २ ओभरमा बनेको सर्वाधिक रन हो। उसका विराट कोहलीले ३३ बलमा सर्वाधिक ६२ रन बनाउँदा ज्याकब बेथलले ३३ बलमै ५५ रन बनाए। यी दुईले पहलिो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए।
अन्त्यमा रोमारियो सेफर्डले विस्फोटक इनिङ खेले। उनले १४ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५३ रन बनाए। यो आईपिएलको दोस्रो सर्वाधिक छिटो अर्धशतक हो। यसअघि यशस्वी जैसवालले १३ बलमा अर्धशतक बनाएका थिए।