लगातार ६ हारपछि लगातार ६ खेल जित्दै बैंग्लुरू आईपिएलको प्लेअफमा, चेन्नइ बाहिरियो

19 May, 2024

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो।

प्लेअफ पुग्न बेंग्लुरुलाई १८ रनमाथिको जित चाहिएको थियो। बेंग्लुरुको प्लेअफ यात्रा अविश्वसनीय रह्यो। उनसले लगातार ६ हारपछि लागतार ६ खेल जित्दै बेंग्लुरु प्लेअफमा पुगेको हो।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो। तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो।चेन्नेइका रचिन रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एकरएक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो। बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले समान एक विकेट लिए।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ। १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ।

प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन्। यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ।