रोयल च्यालेन्जर्स बेंग्लुरु ९ वर्षपछि आईपिएलको क्वालिफायरमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलको लखउन सुपर जायन्ट्समाथि ६ विकेटको कीर्तिमान जित निकाल्दै बैंग्लुरु सन् २०१६ पछि पहिलो पटक क्वालिफायरमा पुगेको हो।
पहिला ब्याटिङ गर्दै लखनउले दिएको २२८ रनको विशाल लक्ष्य बेंग्लुरुले ८ बल बाँकी छँदै ४ विकेटका क्षतिमा भेट्टायो। यो आईपिएल इतिहासको तेस्रो ठूलो स्कोर चेज हो भने बेंग्लुरुको सर्वाधिक ठूलो रन चेज हो।
यो जितसँगै बेंग्लुरुले जारी आईपिएलमा सबै अवे खेल जित्ने कीर्तिमान बनाएको छ। उसले यो सिजन ७ अवे खेल जितेको छ।
बैंग्लुरुका लागि कप्तान जितेश शर्माले विस्फोटक इनिङ खेले। उनले ३३ बलमा ८ चौका र ६ छक्का मद्दतमा नटआउट ८५ रन बनाए। यो उनको आईपिएलको पहिलो अर्धशतक हो। उनले पाँचौं विकेटका लागि मयंक अग्रवालसँग शतकीय साझेदारी गरे। मयंकले २३ बलमा ४२ रन बनाए।
त्यसअघि विराट कोहली र फिल सल्टले बेंग्लुरुलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। कोहलीले ३० बलमा ५४ रन बनाए। यो कोहलीको यो सिजनको आठौं र आईपिएलको ६३औं अर्धशतक हो। कोहलीले अर्धशतक बनाउका आठै खेल यो सिजन बेंग्लुरुले जतेको छ। सल्टले १९ बलमा ३० रन बनाएका थिए।
बलिङमा लखनउका विल ओरुकले २ विकेट लिए भने आकाश सिंह र आवेश खानले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको लखनउले कप्तान ऋषव पन्तको शतक मद्दटमा ३ विकेट मात्र गुमाएर २२७ रन बनायो। उसका लागि पन्तले ६१ बलमा ११ चौका र ८ छक्का मद्दतमा नटआउट ११८ बनाए। यो उनको दोस्रो आईपिएल शतक हो। उनले ८ वर्षपछि शतक बनाएका हुन्।
यस्तै, मिचेल मार्सले ३७ बलमा ६७ रन बनाए। मार्स र पन्तले तेस्रो विकेटका लागि ७८ बलमा १५२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। बलिङमा बेंग्लुरुका नुवान तुसाराले, भुवनेश्वर कुमार र रोमारियो सेफर्डले समान १ विकेट लिए।
यो जित पछि बेंग्लुरुले १९ अंकसहित दोस्रो स्थानमा रह्यो। १९ अंक नै जोडेको पञ्जाब किंग्स शीर्ष स्थानमा रह्यो। अब भोलि हुने क्वालिफायर १ मा यी नै दुई टिम खेल्ने छन्। जित्ने टिम फाइनल पुगने छ भने हार्ने टिमले फाइनल पुग्न एलिमिनेटरको विजेतासँग क्वालिफायर २ खेल्ने छ।
