जब लमिन यमाल मैदानमा बल लिएर दौडिन्छन्, सबैको ध्यान उनीमा नै केन्द्रित हुन्छ । उनलाई रोक्न डिफन्डहरूलाई हम्मेहम्मे नै पर्छ। डिफेन्डरहरूलाई छलाउँदै डिबक्स बाहिरबाट देब्रे खुट्टाले प्रहार गर्ने ‘कर्भ बल’ निकै उत्कृष्ट छ।
यही कारणले यमाललाई १७ वर्षीय कै उमेर स्टारका रुपमा उभ्याएको छ। उनी ला लिगा, युरो, र च्याम्पियन्स लिगमा रेकर्डहरू तोड्दै सफलताको बाटोमा अघि बढिरहेका छन्।
लियोनेल मेसीसँग तुलना गरिने यमाल ‘नेक्स्ट मेसी’ होइनन्, उनी आफ्नै खेल कौशलले अघि बढेका उदीयमान यमाल स्टार हुन्। १७ वर्षकै उमेरमा उनले बार्सिलोनामा आफ्नो अभूतपूर्व प्रभाव छाडेका छन्, विश्व फुटबलमा आफूलाई अब्बल दर्जामा उभ्याउन अग्रसर छन्।
रकफोर्टाको सडकदेखि ला मासियासम्म
लमिन यमाल नस्राउइ एबानाको जन्म १३ जुलाई २००७, बार्सिलोनाको इस्पान्योलमा भएको हो। मोरोक्कन बाबु र इक्वेटोरियल गिनीकी आमाबाट जन्मिएका उनले रकफोर्टाको साँघुरा सडकमा फुटबलको पहिलो पाठ सिके।
पाँच वर्षको उमेरमा उनले स्थानीय क्लबमा खेल्न थालेको थिए, बलसँग रमाउन थालेका थिए। त्यतिबेलैदेखि उनीले गति र ड्रिब्लिङले सबैलाई चकित पारेका थिए। सात वर्षको उमेरमा ला मासिया एकेडेमीको ढोका खुल्यो, र त्यहाँबाट उनको यात्रा एउटा कथाजस्तै बुनिन थाल्यो।

उनले लामासियामा आफूलाई थप निखारे। निरन्तर उत्कृष्ट प्रदर्शन गरे। सोही कारण उनले १५ वर्ष ९ महिनामा (अप्रिल २९, २०२३) उनले रियल बेटिसविरुद्ध ला लिगामा डेब्यू गरे। यो सँगै उनी बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरको सिनियर खेलाडी बने। त्यो क्षणमा यमालले भनेका थिए, ‘म सपना जिइरहेको छु, तर यो केवल सुरुआत हो।’
यमालले आफ्नो भनाईलाई सावित गरिरहेका छन्, निरन्तर उत्कृष्ट प्रदर्शन गरेर। त्यो सुरुआतमात्र थियो, त्यसपछि उनले एक प्रदर्शनमा बार्सिलोनालाई थुप्रै खेल जिताका छन्, कलात्मक फुटबल खेल्दै। अक्टोबर ८ मा ग्रानाडाविरुद्ध उनले पहिलो गोल गरे, जुन १६ वर्ष ८७ दिनमा ला लिगा इतिहासकै कम उमेरको गोल हो।
शानदार प्रदर्शन र बार्सिलोनामा प्रभाव
यो सिजन बार्सिलोनालाई २८औं ला लिगा उपाधि जिताउन यमालको ठूलो योगदान रह्यो। उनले ३८ खेलमा १२ गोल र १४ असिस्ट गरे भने २,९४० मिनेट खेल्दै १४० मध्ये ८५ ड्रिबल (६१ प्रतिशत सफल) र ४२ मौका सिर्जना गरे। मे ११ को ‘एल क्लासिको’ मा रियल म्याड्रिडविरुद्ध उनको गोलले ४–३ को जित दिलायो, र मे १६ मा एस्पान्योलविरुद्ध उनको गोलले उपाधि पक्का गर्यो। गत वर्ष गोल्डेन ब्वाय २०२४ जितेका यमालले ८६ प्रतिशत पास सटीक राखे।

बार्सिलोनामा उनको प्रभाव गज्जबको छ- उनको गति र रचनात्मकताले टोलीको आक्रमणलाई नयाँ उचाइ दिएको छ, प्रशंसकहरूलाई उत्साहित बनाएको छ, र ला मासियाको गर्व बढाएको छ। यमालले टोलीका अनुभवी खेलाडीहरूसँग तालमेल बनाउँदै बार्सिलोनालाई रियलविरुद्ध चारवटै खेलमा जित दिलाए, र उनको आत्मविश्वासले युवा पुस्तालाई प्रेरित गरेको छ।
च्याम्पियन्स लिगमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे। यमालले १० खेलमा ४ गोल र ५ असिस्ट गरेका छन्, तर बार्सिालेना फाइनल पुग्न भने सकेन। सुपरकोपा डे इस्पाना २०२५ मा रियल म्याड्रिडविरुद्ध ५–२ को जितमा पनि उनले गोल र असिस्ट गरे। कोपा डेल रे फाइनलमा उनको गोलले ३–२ को जित सुनिश्चित गर्यो। यसले उनलाई बार्सिलोनाको ‘क्लच प्लेयर’ बनाएको छ।
यो प्रदर्शनपछि यमाललाई बालोन डे’ओरको दाबेदारका रुपमा पनि उभ्याएको छ।

युरो २०२४ : विश्वलाई चकित पार्ने किशोर
युरो २०२४ लाई यमालले यादगार बनाए। सानदार प्रदर्शन गर्दै स्पेनलाई च्याम्पियन त बनाए नै, सँगैआफूलाई विश्व फुटलमा स्थापित पनि गराए। १६ वर्ष ३३८ दिनको उमेरमा फ्रान्सविरुद्ध सेमिफाइनलमा उनले गोल गर्दै गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान पनि बनाए । इंग्ल्याण्डविरुद्धको फाइनलमा पनि उनका भमूका उस्तै रह्यो। सोही कारण उनी उदीयमान खेलाडी बने। ६ खेलमा १ गोल, ४ असिस्ट गरे।
मेस्सी र नेयमारको मिश्रण
यमालको ड्रिब्लिङमा मेस्सीको जादू, गतिमा नेयमारको झल्को, र फिनिसिङमा रोनाल्डोको भोक देखिन्छ। १.८ मिटर उचाइ, ३४.२ किमि प्रतिघण्टा गति र बायाँ खुट्टाको सटीकताले उन विशेष बनाएको छ। यमाल आफूलाई अन्य खेलाडीहरुसँगको तुलनाबाट टाढा राख्छ चाहन्छन् । उनी भन्छन्– म लमिन यमाल हुँ, मेरो कथा आफ्नै हो।

चुनौती र भविष्य
१७ वर्षको उमेरमा विश्वको अपेक्षा बोक्नु सजिलो छैन। दबाब र चोटको जोखिम यमालका चुनौती हुन्। तर, उनको मानसिक बल र फ्लिकको मार्गदर्शनले उनलाई अडिग राख्छ। च्याम्पियन्स लिग २०२५(२६ मा बार्सिलोनाको छैटौँ उपाधि र २०२६ विश्वकपमा स्पेनको नेतृत्व उनको लक्ष्य हो। विश्लेषकहरू उनलाई २०२५ बालोन डे’ओरको को दावेदार ठान्छन्।
०००
यमाल बार्सिलोनाको उदाउँदा तारा हुन्, जसले ला मासियाको माटोबाट विश्व फुटबलको आकाश चुम्दैछन्। १२ गोल, १४ असिस्ट, र अनगिन्ती रेकर्डले उनको कथा लेखिएको छ, तर यो कथाको अन्त्य होइन।
‘एल क्लासिको’ मा रियललाई नचाउने, युरोमा विश्वलाई चकित पार्ने, र ला लिगा उपाधि जिताउने यो किशोरको यात्रा भर्खर सुरु भएको छ। यमाल केवल खेलाडी होइनन्– उनी सपना हुन्, जसले विश्वलाई हरेक खेलमा नयाँ कथा सुनाउँछन्, देखाउँछन्। -एजेन्सीहरूकाे सहयाेगमा