नेपाली क्रिकेट टिम दोस्रो पटक टि–२० विश्वकपमा सहभागीता जनाउन अमेरिकामा छन्। विश्वकपको तयारीका लागि एक महिनाअघि अमेरिका पुगेको नेपाली टिमले वेस्टइन्डिज र अमेरिका गरी कुल ५ अध्यास खेल खेलेको छ।
शनिबार राति नेपालले अन्तिम अभ्यास खेल खेलेको थियो। अब नेपालले विश्वकपको २ अफिसियल वार्मअप म्याच खेल्ने छ। जसमा अमेरिका र क्यानडा प्रतिद्वन्द्वी छन्।
शनिबार राति अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई पराजित गरेपछि नेपाली टिमका कप्तान रोहित पौडेलले नेपाली टिम आत्मविश्वासी रहेको बताएका छन्। निरन्तर राम्रो क्रिकेट खेलिरहेकाले टिमको मनोबल पनि उच्च रहेको बताए।
‘नेपाली सबै खेलाडी अनुभवी नै छन् । कम्तिमा पनि दुई, तीन वर्ष राष्ट्रिय टिममा खेलिरहेका खेलाडी छन्,’ उनले भने, ‘एकदम प्रेसर भएका खेल जितेको अनुभव सबैसँग छ। विश्वकममा उच्च मनोबलका साथ मैदान जान्छौं।’
विश्वकप अघिका हरेक खेलले केही न केही सिकाइरहेको बताउँदै उनले अभ्यासस खेल वातावरणमा भिज्नको लागि महत्त्वपूर्ण भएको बताए। नेपाली टिमले प्रत्येक ‘मोमेन्ट’लाई ‘क्यास’ गर्ने रणनीति लिएको पौडेलले बताए।
नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।