क्यानडामा हुने ग्लोबल टि–२० लिग खेल्न जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीको भीसामा ढिलाई भएको छ। भीसामा ढिलाई हुँदा रोहित र दीपेन्द्रले लिगको एक खेल गुमाउने भएका छन्।
ग्लोबल टी–२० लिग शुक्रबारदेखि सुरु हुनेछ । रोहितको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिग हो। उनलाई टोरोन्टो नेसनल्सले १६ लाखमा अनुबन्ध गरेको छ ।
टी–२० लिगमा सहभागी हुन दीपेन्द्र बुधबार राति नयाँदिल्लीबाट क्यानडा गएका छन्। कप्तान रोहित बिहीबार मात्र त्यसतर्फ प्रस्थान गर्नेछन्।
लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि आबद्ध छन्। सन्दीप गत साता नै क्यानडा पुगिसके । दीपेन्द्र र सन्दीप भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन्। सन्दीपलाई ४० लाख तथा दीपेन्द्रलाई २४ लाखमा भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले सन् २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।
सो सिजनमा उनी आबद्ध मोन्ट्रियलले उपाधि जितेको थियो। विश्वको चर्चित अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगको अनुभव बटुलेका सन्दीपले यसअघि क्यानडाको ग्लोबल टी–२० मा मोन्ट्रियल र टोरोन्टोबाट खेलेका थिए।
उनी तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्दै छन् । लिगको उद्घाटन खेलमा शुक्रबार टोरोन्टो र भ्यानकुभरले प्रतिस्पर्धा गर्नेछन् । न्युजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो सेफर्ड र दक्षिण अफ्रिकाका भ्यान डर डसन टोरोन्टोमा रहेका छन्।
सन्दीप र दीपेन्द्रसँगै भ्यानकुभरमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानसमेत थिए, तर पाकिस्तानी क्रिकेट बोर्डले लिग खेल्ने अनुमति नदिएपछि उनीहरूकाे स्थानमा अस्ट्रेलियाका उसमान खवाजा र दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सलाई अनुबन्धन गरेकाे छ।