दुई भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीले वेस्टइन्डिजमा टि–२० विश्वकप उपाधि जितेसँगै टि–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। दुवै खेलाडीले नयाँ खेलाडीलाई मौका दिन भन्दै टि–२० अन्तर्राष्ट्रियबाट बिदा लिए।
उनीहरुले टि–२० क्रिकेटबाट विदा लिएसँगै निकट भविष्यमै एकदिवसीय र टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिन लागेका हुन् भन्ने कुतूहलता दर्शकमा छ।
भारतीय टिमको मुख्य प्रशिक्षकका रुपमा पहिलो पटक पत्रकार सम्मेलनमा गौतम गम्भीरलाई पनि धेरैले रोहित र विराट कहिलेसम्म टिम्मा हुन्छन् भन्ने प्रश्न गरे।
गम्भीरले रोहित र विराटको अझै थुप्रै क्रिकेट बाँकी रहेको भन्दै यो उनीहरुमै भर पर्ने बताए। उनले फिटनेस मेन्टेन गरेर अझै लामो समय उनीहरु भारतीय टिमलाई योगदान दिन सक्ने बताए।
‘यदि फिटनेस मेन्टेन गरिराखेको खण्डमा उनीहरू भित्र धेरै क्रिकेट बाँकी छ,’ उनले भने, ‘उनीहरूले प्रमाणित गरेका छन् कि उनीहरू ठूला खेलका खेलाडी हुन्, चाहे त्यो एकदिवसीय फर्म्याट होस् या टी २० फर्म्याटको विश्वकप।’
आसन्न च्याम्पियन्स ट्रफीमा रोहित र विराटको भूमिका निकै महत्वपूर्ण हुने बताउँदै उनले अर्को एकदिवसीय विश्वकप पनि खेल्ने विश्वास व्यक्त गरे।
‘म एउटा कुरामा निकै स्पष्ट छु, उनीहरू दुवैजनामा अझै धेरै क्रिकेट बाँकी छ। अझ विशेषतः च्याम्पियन्स ट्रफी (२०२५) र अष्ट्रेलियामा (नोभेम्बर २०२४) मा हुने खेलमा उनीहरू निकै उत्साहका साथ खेल्नेछन्,’ उनले भने, ‘अनि आशा छ, फिटनेस मेन्टेन गरेको खण्डमा (२०२७) को विश्वकपमा पनि ।’
साथै उनले विराट र आफ्नो सम्बन्ध सुमधुर रहेको बताए। आफूहरु दुवै मिलेर देशलाई गौरवान्वित बनाउने बताए।
‘अहिलेको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी दुवैजनाको काम हो। हामी दुवैले धेरै मिहिनेत गरेर भारतलाई गौरवान्वित बनाउनु छ । र यो हाम्रो काम हो,’ गम्भीरले भने।
उनले विराट व्यावसायिक विश्वस्तरीय खेलाडी भएको बताउँदै आफूहरुले एकै ठाउँमा रहेर राम्रो काम गर्ने बताए।