नेपाल क्रिकेट क्यान (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय अम्पायर संजय गुरूङलाई प्रतिबन्ध लगाएको छ।
क्यानका महाप्रवन्धक उत्सव ढुंगानाले गुरूङलाई अम्पायरिङसहित कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने प्रतिबन्ध लगाइएको भन्दै लुम्बिनी प्रदेश संघलाई पत्राचार गरेका छन्।
१७ दिनअघि बसेको क्यानको बोर्ड बैठकले गुरुङलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै नेपाल क्रिकेट संघका अध्यक्षविरुद्ध विभिन्न संचार माध्यमहरूमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएकाले गुरुङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको पत्रमा उल्लेख छ।
‘लुम्बिनी क्रिकेट संघका पूर्वअध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै नेपाल क्रिकेट संघका अध्यक्षविरुद्ध विभिन्न संचार माध्यमहरूमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा साउन १५ गते बसेको नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिको बैठकबाट निजलाई अर्को निर्णय नभएसम्मको लागि अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउने निर्णय भएको हुँदा निजलाई अप्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउनुहुन निर्देशन अनुसार अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।
यसरी क्यानको निर्णयमा असहमति राखेर मुद्दा दायर गर्ने र अध्यक्षविरूद्ध टिप्पणी गर्ने व्यक्तिलाई क्यानले प्रतिबन्ध लगाएको यो पहिलोपटक हो।
यसअघि यसअघि गत चैत २२ गते लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयराज भण्डारीले अध्यक्ष गुरूङविरूद्ध अविश्वासको पत्र दर्ता गराएका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्दा भण्डारीले प्रदेशका बहुसंख्यक सदस्य गुरूङको विपक्षमा भएको हस्ताक्षर पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसमक्ष पेस गरेका थिए।
प्रदेश अध्यक्ष गुरुङलाई प्रदेशका सदस्यहरूले क्यानबाट प्राप्त बजेटको दुरूपयोग गरेको र प्रदेशभर क्रिकेटका ठोस गतिविधि सञ्चालन नगरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ल्याएका थिए।
जसमा क्यान अध्यक्ष चन्दले पनि गुरुङले रकम दुरूपयोग गरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव ुफेसु गर्न चुनौती दिएका थिए।
गुरूङले यो कदम अवैधानिक भएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका थिए भने पत्रकार सम्मेलन गरेर अध्यक्ष चन्दले आफूविरूद्ध प्रतिसोध साँधेको आरोप लगाएका थिए। अध्यक्ष चन्दले प्रदेश कब्जा गर्ने रणनीतिस्वरुप प्रादेशिक क्रिकेट संघ विनियमावली ल्याएको उनको आरोप थियो।
