काठमाडौं, कात्तिक २५ श्रीलंकन क्रिकेट बोर्डमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निलम्बन गरेको छ। श्रीलंकन क्रिकेट बोर्डमाथि सरकारले हस्तक्षप गरेको भन्दै शुक्रबार बसेको आईसिसी बोर्ड बैठकले श्रीलंकालाई निलम्बन गरेको हो।
आईसीसीले भनेको छ, ‘श्रीलंका क्रिकेटमा सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरिएको पाइएको छ, विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त रूपमा व्यवस्थापन गर्ने र सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्ने विषयमा।’ श्रीलंका क्रिकेटलाई कस्तो खाले निलम्बन गर्ने विषयमा आईसीसीले पछि निर्णय गर्ने जनाएको छ।
श्रीलंका क्रिकेटमाथि कस्तो किसिमको निलम्बन गरेको केही खुलाइएको छैन, जसका कारण जनवरीमा श्रीलंकाले आयोजना गर्ने यू–१९ विश्वकप पनि अन्योल बनेको छ ।
केही दिनअघि मात्र अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंका सरकारले निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेको थियो। तर, त्यहाँको सर्वोच्च अदालतले पुनः निर्वाचित कमिटीलाई बहाली गर्न आदेश दिएको थियो।
भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो। भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ।