एसपीए बन्यो सुदुरपश्चिम रोयल्सको एजुकेशन पार्टनर

19 Nov, 2024

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) नेपाल प्रिमियर लिग (एनपिएल) टिम सुदुरपश्चिम रोयल्सको एजुकेसन पार्टनर बनेको छ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता गरेको हो। सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरे।

एसपीएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो। यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थिय । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ।

सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए। यस्तै, एसपीएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे।

क्यानले आयोजना गर्न लागेको एनपिएपलमा सुदूरपश्चिमसहति ८ टिमको सहभागीता रहने छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् भने मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्।

टिममा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डेलगाउत नेपाली खेलाडी छन् भने विदेशी खेलाडीमा स्कटल्यान्डका ब्रान्डन म्याकलेन, इंग्ल्यान्डका सेफ अली जेब, न्युजिल्याण्ड स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन्।