स्पिनर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
प्रतियोगिताको चौथो खेलमा पनि सूर्यले घातक बलिङ गरेपछि राष्ट्रिय खेलाडीले भरिएको विभागीय टिम त्रिभुवन आर्मी क्लब ९७ रनमै अलआउट भएको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सूर्यले ५ विकेट लिएपछि बागमती विरुद्ध पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभारमा ९७ रनमै अलआउट भएको हो। उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाउँदा भीम सर्कीले १८ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्रतियोगितामा उत्कृष्ट लयमा रहेका सूर्यले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए। यस्तै, प्रतिशत जिसी र रिजन ढकालले समान २ विकेट लिए।
जारी प्रतियोगितामा सूर्यले ४ खेलमा १७ विकेट लिएका छन्। उनले मंगलबार मात्र मधेश प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।