नेपाल क्रिकेट संघ (क्यान)ले विराटनगरमा जारी प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगिता खेलिरहेका क्यानमा आबद्ध सबै खेलाडीलाई फिर्ता बोलाएइको छ।
बेटिङ कम्पनी ‘वान एक्स ब्याट’को विज्ञापन प्रयोग गरेको भएपछि क्यानले संघमा आबद्ध खेलाडीलाई फिर्ता बालाएको हो।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जेठ १४ मै मोरङ जिल्ला क्रिकेट संघलाई पत्र पठाएर ‘वान एक्स ब्याट’को विज्ञापन प्रयोग नगर्न सचेत गराएका थिए। तर, सचेत गराउपछि ‘वान एक्स ब्याट’को विज्ञापन प्रयोग गरेपछि क्यानले खेलाडी फिर्ता बोलाएको हो।
क्यानले खेलाडीलाई फिर्ता बोलाएपछि क्रिकेट अम्पायर स्कोरर एसोसिएसनले पनि म्याच नखेलाउन निर्देशन गर्दै अम्पायर फिर्ता बोलाएको छ । क्यानले खेलाडी र कुसानले अम्पायर फिर्ता बोलाए पनि आयोजकले स्थानीय अम्पायर प्रयोग गरेर प्रतियोगितालाई निरन्तरता दिएको छ।
विराटनगर महानगरपालिका–६ को आयोजनामा जेठ १३ देखि विराटनगर–६ स्थित एमबीजे क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा स्थानीय ७ क्लबको सहभागिता छ।
ती क्लबमा चार–चार जना भारतीय खेलाडी अनुबन्धित छन्। यसअघि क्यानले प्रतियोगिता आयोजना गर्न स्वीकृति दिँदै पीएमओए एरियाको व्यवस्थापन तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्न एसीयू प्रतिनिधि पठाउँदै खेलाडीसमेत उपलब्ध गराएको थियो ।
आयोजक विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष अक्षय सहनीले क्यानले प्रतियोगिताको बीचमा खेलाडी फिर्ता बोलाएर प्रतियोगिता नै प्रभावित पारेको बताए ।
क्यानले स्पष्टीकरण दिने समयसम्म पनि धैर्य नगरेर खेलाडी फिर्ता बोलाइ प्रतियोगिता प्रभावित पारेको आयोजको गुनासो छ । मोरङ क्रिकेट संघका अध्यक्ष महमदसाद बाबुले क्यानको सुझावलाई पालना गरेर प्रतियोगिता सञ्चालन गरिने बताए।
जेठ १३ देखि सुरु भएको प्रतियोगिताका बिहीबारसम्म १३ खेल सम्पन्न भएका छन् । जेठ १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल २३ खेल खेलाउने तालिका थियो ।