राष्ट्रिय टी–२० क्रिकेटमा सुदूरपश्चिम र आर्मी विजयी

8 Mar, 2024

विराटनगरमा जारी कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टिम त्रिभुवत आर्मी क्लब विजयी भएका छन्।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ।

जितसँगै सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको सुदुरले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रनको स्कोर खडा गरेको थियो।

सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरी ५८ रन बनाए । प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ६ छक्काको मद्दतमा ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा मन्जित श्रेष्ठले २ विकेट लिए।

जवाफमा १ सय ८४ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रनमा समेटियो । पुलिसका शंकर रानाले नटआउट ९१ रनको पारी सम्हाले।

६२ बलको सामना गरेका रानाले ५ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै, अविशेक कार्कीले २० बनाए । सुदुरपश्चिमका दिपक चन्द र शेर मल्लले समान २ ÷२ र नारायण जोशीले १ विकेट लिए।

आजै भएको दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो।

आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरि ४२ रन बनाए। यस्तै, सन्दिप रजालीले नटआउट ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दिपेन्द्र रावतले १–१ विकेट लिए ।

जवाफमा १ सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्यो। कर्णाली लागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १–१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।