टी–२० राष्ट्रिय क्रिकेटमा मधेश र वागमती विजयी, सेमिफाइनल समीकरण पूरा

14 Mar, 2024

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

बिहीबार खेलमा मधेश प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरे।

विहिबारको खेलअगावै समूह ‘ए’ बाट आर्मी ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै, समूह ‘बी’ बाट लुम्बिनीले ४ मध्ये ३ खेल जित्दै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

यसैगरी, सुदूरपश्चिमले पनि ४ मध्ये ३ खेल जित्दै ६ अंकका साथ उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको हो। यो खेलमा मधेशले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा पुग्ने थियो भने एपिएफले ८ दशमलव ३ बलमा मधेशमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो।

टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो। मधेशका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए।

एपिएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पुरन विकले पनि ३ विकेट लिए।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफ पूरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रनमा बनाउँदा क्पतान भुवन कार्कीले अविजित १२ रन र आयूुमान बमले पनि १२ रन बनाए । मधेशका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए।

आजै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा वागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । वागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरि अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए।

जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सीमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरि ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए।

विहिबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।