मोरङलाई हराउँदै आयोजक मिल्स क्लबले जित्यो प्रदेशस्तरीय टि-२० क्रिकेट उपाधि

30 Mar, 2025

प्रदेश स्तरीय टि–२० क्रिकेटको उपाधि आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीले जितेको छ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो।

जितसँगै आयोजकले नगद १ लाख १ हजार रुपैया हात पार्यो। उपबिजेता बनेको मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो।

मोरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । आयोजकको जितमा कृष शर्माले २४ रन बनाए । उनले १९ बलमा दुई चौका प्रहार गरे । सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए ।

बलिङमा मोरङका मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो। कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। कृतिक कामतले ४३ बलमा ३४ रन बनाए।

आयोजकका मिल्सका जोशक खड्काले २ तथा प्रशान्त साह र सौगात भट्टराईले समान १ विकेट लिए।

प्यलेर अफ द सिरिज मोरङ जिल्लाका मिनस थापा घोषित भए भने बेस्ट ब्याटरमा आयोजकका मुकुन यादव र बेस्ट बलरमा उदयपुरका तेज आचार्य घोषित भए।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ जिल्लाको सहभागिता रहेको थियो।