दशकपछि विश्वकप खेलेको नेपाल पहिलो खेलमा पराजित भएको छ। मंलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ओपनर म्याक्स ओडावडले अर्धशतक बनाए। उनले ४८ बलमा ४ चौका र १ छक्का मद्दतमा ५४ रन बाए।
१८औं ओभरको पाँचौं बलमा ओडावडको क्याच रोहित पौडेलले सहज छाड्नु नेपालका लागि घातक बन्यो। त्यो क्याच भएको खेलको नतिजा परिवर्तत हुन सक्यो। ओगावडले अर्को ओभरको ४ बलमा १५ रन बनाउँदै नेदरल्यान्ड्सलाई सहज जित दिलाए।
यस्तै, विक्रमजित सिंहले २८ बलमा ४ चौका मद्दतमा २२ रन बनाए। विक्रमजित र ओडावडले दोस्रो विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गरे। सेब्रान्ड इंगेलब्रेचले १६ बलमा १४ रन बनाए। बास डे लिडले ११ रन बनाए।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अविनाश बोहराले समान १ विकेट लिए।
वर्षा प्रभावित खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो।
नेपालको सुरुआत राम्रो हुन सकेन। नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए।
त्यसपछि कप्तान रोहितकुमा पौडेल र अनिल साहले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। यी दुईले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका थिए।
आठौं ओभरको चौथो बलमा अनिल साह व्यक्तिगत ११ रनमा आउट भएपछि नेपालले थप २ विकेट लगातार गुमाएको थियो। त्यसपछि नेपालले कुशल मल्ललाई ९ तथा दीपेन्द्रसिंह ऐरी १ र सोमपाल कामीलाई शुन्य रनमा गुमाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे। त्यसपछि करण केसीले १२ बलमा २ छक्का मद्दतमा १७ र गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ रन बनाए।
नेपाललाई दबाबमा राख्ने क्रममा टिम प्रिंगल र लोगन भान विकले समान ३ विकेट लिँदा पाउल भान मिकेरेन र बास डे लिडले समान २ विकेट लिए।