आयोजक वेस्टइन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

20 Jun, 2024

जारी टि–२० विश्वकपको सुपर ८मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ। बिहीबार बिहान भएको खेलमा इंग्ल्यान्डले आयोजक वेस्टइन्डिजमाथि ८ विकेटको सानदार जित निकाल्यो।

फिल सल्टको उत्कृष्ट ब्याटिङ मद्दतमा १८१ रनको लक्ष्य इंग्ल्यान्डले १७.३ ओभरमा २ विकेट मात्र गुमाएर भेट्टायो। सल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रन बनाए। उनी प्लेयर अफ दी म्याच चुनिए।

यस्तै, जोनी बेरिस्टोले २६ बलमा ५ चौका र २ छक्का मद्दतमा ४८ रन बनाए। यी दुई तेस्रो विकेटका लागि ४४ बलमा नटआउट ९७ रनको उत्कृट साझेदारी गरेका थिए।

कप्तान जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए। बलिङमा वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनायो। उसका लागि जोन्सन चार्
ल्सले सर्वाधिक ३८ रन बनाए। चार्ल्सले ब्रान्डन किङसँग पहिलो ४० रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, पाँचौं ओभरको दोस्रो बलमा किङ घाइते हुँदै मैदान बाहिरिएपछि वेस्टइन्डिज केही दबाबमा आएको थियो। किङले २३ रन बनाए।

त्यसपछि निकोलस पुरनले चार्ल्ससँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै गर्दै टिमलाई ११.१ ओभरमा ९४–१को बलियो अवस्थामा ल्याएका थिए। पुरनले ३६ रन बनाए।

यस्तै, कप्तान रोभमन पावेलले १७ बलमा ३६ रन बनाउँदा सेरफन रथरफोर्डले १५ बलमा २८ रन बनाए।

बलिङमा इंग्ल्यान्डका लइम लिभिङ्सटन, मोइन अली, अदिल रसिद र जोफ्रा आर्चरले समान ३ विकेट लिए।