टि–२० विश्वकप : अफगानिस्तानमाथि भारतको सानदार जित

21 Jun, 2024

जारी टि–२० विश्वकपको सुपर ८मा भारतले विजयी सुरुआत गरेको छ। बिहीबार राति बार्बाडोसको भएको खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको सानदार जित निकाल्यो।

भारतलाई जित दिलाउने क्रममा ब्याटिङमा सूर्यकुमार यादव र बलिङमा जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे। सूर्याले अर्धशतक बनाउँदा बुमराहले ३ विकेट लिए।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान इनिङको अन्तिम बलमा १३४ रनमै अलआउट भयो। उसका लागि अज्मतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाउँदा नाजिबुल्लाह जद्रानले १९, गुल्बादिन नइबले १७, मोहम्मद नाबीले १४ र नूर अहमदले १२ रन बनाए।

अफगानिस्तानको इनिङ धरासायी बनाउने क्रममा बुमराहले ४ ओभरमा १ मेडनसहित ७ रनमात्र खर्चेर ३ विकेट लिए भने अर्सदीप सिंहले पनि ३ विकेट नै लिए। यस्तै, प्रतियोगितामा पहिलो खेल खेलेका कुलदीप यादवले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले सूर्याको अर्धशतक मद्दतमा ८ विकेटको क्षतिमा १८१ रन बनायो। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। हार्दिक पाण्ड्याले २४ बलमा ३ चौका र २ छक्का मद्दतमा ३३ रन बनाए। यी दुईले पाँचौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै, विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषव पन्तले ११ बलमा २० र अक्षर पटेलले ६ बरमा १२ रन बनाए।

बलिङमा अफगानिस्तानका फजलहक फारुकी र रसिद खानले समान ३ विकेट लिए।