अपराजित रहँदै दक्षिण अफ्रिका टि-२० विश्वकपकाे सेमिफाइनलमा, आयोजक वेस्टइन्डिज बाहिरियो

24 Jun, 2024

जारी टि–२० विश्वकपमा अपराजित रहँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान भएको वर्षा प्रभावित खेलमा आयोजक वेस्टइन्डिजलाई डक वर्थ लेविस मेथर्डमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो।

दक्षिण अफ्रिका चाैथाेपटक टि-२० विश्वकपकाे सेमिफाइनलमा पुगेको हो। याे उसकाे १० वर्षपछि काे सेमिफाइनल यात्रा हो।

वेस्टइन्डिजले दिएको १३६ रनको लक्ष्य पछ्याउँदा दोस्रो ओभरसकिएपछि खेल वर्षाले अवरुद्ध भएको थियो। एक घण्टा बढी खेल वर्षाले अवरुद्ध भएपछि खेल १७ ओभरमा झारिएको थियो। र, दक्षिण अफ्रिकाले १२३ रनको नयाँ लक्ष्य पाएको थियो।

दक्षिण अफ्रिकालाई जित दिलाउन ट्रिस्टन स्टब्सले सर्वाधक २९ रन बनाए। उलने २७ बलमा ४ चौका प्रहार गरे। यस्तै, हेनरिच क्लासनले १० बलमा ३ चौका र १ छक्का मद्दतमा २२ रन बनाउँदा मार्को यान्सनले १४ बलमा २१ र कप्तान एइडन मारक्रमले १८ रन बनाए।

बलिङमा वेस्टइन्डिजका रोस्टन चेसले ३ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए भने अल्जारी जोसेफ र आन्द्रे रसेलले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले रोस्टन चेसले अर्धशक बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा ८ विकेटको क्षतिमा १३५ रन बनायो। चेसले ४२ बलमा ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। यस्तै, कायल मेयर्सले ३४ बलमा ३ चौका र २ छक्का मद्दतमा ३५ रन बनाए।

यी दुई बाहेक आन्द्र रसेलले १५ र अल्जारी सोजेफले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनउान सकेनन्।

वेस्टइन्डिजको इनिङ धरासायी बनाउने क्रममा दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने मार्को यान्सन, मारक्रम, केशव महाराज र कगिसो रबाडाले समान १ विकेट लिए।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार ७ खेलेको जितेको छ। उसले समूह चरणमा ४ र सुपर ८मा ३ खेल जित्यो । ऊ सुपर ८को समूह २बाट विजेताका रुपमा सेमिफाइनल पुगेको हो। उसले सेमीमा अस्ट्रेलिया र अफगानिस्तानमध्ये एकसँग खेल्नेछ।

यता, आयोजक वेस्टइन्डिजमा भने सुपर ८ मा १ खेल मात्र जित्दै तेस्रो भयो। यो समूहका इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ।