अपराजित रहँदै जित्यो टि-२० विश्वकप उपाधि, जित नजिक पुगेर पनि चुक्याे दक्षिण अफ्रिका

30 Jun, 2024

भारत १७ वर्ष टि-२० विश्वकप च्याम्पियन बनेको छ। शनिबार राति बार्बाडोसमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत १७ वर्षपछि च्याम्पियन बनेको हो।

यसअघि भारतले सन् २००७ को टि-२० विश्वकपको पहिलो संस्करण जितेको थियो।

भारतले दिएको १७७ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो। पहिलो पटक विश्वकप फाइलन खेलिरहेको दक्षिण अफ्रिका जित नजिक रहेर पनि उपाधिबाट बञ्चित भयो।

अन्तिम ५ ओभरमा ३० रन मात्र चाहिएको अवस्थामा सहज अवस्थामा उसले ३० बलमा २१ रन मात्र बनाउन सक्यो। उसलका लागि हेरिक क्लासले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रन बनाए।

यस्तै, क्वेन्टन डि ककले ३१ बलमा ३९, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ र डेविड मिलरले १७ बलमा २१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। १५औं ओभरको पहिलो बलमै हार्दिक पाण्ड्याले क्लासनको विकेट लिएपछि भारत खेलमा फर्किएको थियो।

भारतलाई १७ वर्षपछि च्याम्पियन बनाउने क्रममा हार्दिकले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै जस्प्रित बुमराह र अर्सदीप सिंहले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीले सम्हालिएको पारी खेलेपछि ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। पावर प्लेमै ३ विकेट गुमाएपनि विराटले एक छेउबाट इनिङ सम्हालेपछि भारतले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। यो टि २० विश्वकप फाइनलको सर्वाधिक स्कोर हो।

प्रतियोगिताभर खराब लयमा रहेका विराटले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए। उनी प्लेअर अफ दी म्याच पनि भए। यस्तै अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाए।

यी दुईले तेस्रो विकेटका लागि ५४ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। विराटले त्यसपछि शिवम दुवेसँग चौथो विकेटका लागि ५७ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए। दुवेले १६ बमाल ३ चौका र १ छक्का मद्दतमा २७ रन बनाए।

बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्कियाले समान २ तथा मार्को यान्सन र कागिसो रबाडाले समान १ विकेट लिए।