भारतले जित्याे लागतार दाेस्राे पटक टि-२० विश्वकप

9 Mar, 2026

आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।

भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो। लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो।

भारत लगातार दोस्रो अनि तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो । न्युजिल्यान्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भयो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो।

ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

भारतका जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए। अक्षर पटेलले ३ विकेट लिए। हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।

इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रनको क्यामिओ खेले।

न्युजिल्यान्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए।

भारतले यस विश्वकपमा सुपर ८ मा दक्षिण अफ्रिकासँग एकमात्र हार बेहोरेको थियो।

सन्जु सामसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले भारतका लागि ५ खेल मात्र खेलेका थिए । भारतका पछिल्ला तीन महत्त्वपूर्ण खेलमा शानदार प्रदर्शन गरेका उनले तीन अर्धशतकसहित ३२१ रन बनाए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]