दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ।
नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो। समूह डी बाट नेपालसँगै पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ।
यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह एबाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ।
यो समूहमा आयरल्यान्ड र अमेरिका छन् यी २ मध्ये १ टोली तेस्रो भएर आउने छ । भारतसित खेल्न बाँकी रहेको अमेरिकाको कुनै अंक छैन । आफ्ना सबै ३ खेल खेलिसकेको आयरल्याण्ड २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
नेपालले सुपर सिक्समा समूह ए को पहिलो र दोस्रो स्थानमा रहेर आउने टोलीसँग खेल्नुपर्ने हुन्छ । सुपर सिक्सको नियम अनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यहिँ स्थानको टोलीसँग खेल्नु पर्दैन त्यसैले समूह ए बाट तेस्रो स्थानमा रहेर आउने टोलीसँग नेपालले खेल्ने छैन।
त्यस्तै समूह ए को शीर्ष टोलीले समूह डी को दोस्रो र तेस्रो नम्बरको टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह ए को दोस्रो स्थानमा हुने टोलीले समूह डी को शीर्ष र तेस्रो टोलीसँग सुपर सिक्समा खेल्नेछ ।
तालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ए को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ। नेपालले २ फेब्रुअरीमा समूह ए को शीर्ष टोलीसँग खेल्नेछ।
सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ए को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउनै पर्ने हुन्छ।