यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग खेल्दै नेपाल

21 Jan, 2024

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा आज नेपालले प्रतियोगिताको पहिलो खेल खेल्दैछ। जसमा नेपालले न्युजिल्यान्डसँगको सामान गर्ने छ।

इस्ट लन्डनमा हुने समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ। नेपाल पहिलो खेलबाटै लय समाउने दाउमा छ। दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित पाएको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ।

न्युजिल्यान्डविरुद्ध यू–१९ विश्वकपमा नेपाल अपराजित छ। सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।

२०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपाल त्यसयता यू–१९ विश्वकपमा पहिलो पटक खेल्दै छ।

सोही समूहमा शनिबार दुई पटकको च्याम्पियन पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको छ ।