यू–१९ विश्वकपमा आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

20 Jan, 2024

यू–१९ विश्वकपमा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन्।

शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रन हराउँदा आयरल्यानडले अमेरिकालाई ७ विकेटले हरायो।

दक्षिण अफ्रिकाले दिएको २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा २५४ रनमै अलआउट भयो। जेवेल एन्ड्रयुले शतक बनाए पनि टिमलाई जिताउन सकेनन्। उनले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रन बनाए।

यस्तै, नाथन सेलीले ३३ र जोर्डन जोन्सनले २१ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। वेस्टइन्डिजको इनिङ धरासयी बनाउने क्रममा दक्षिण अफ्रिकाका क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए भने राइली नर्टनले ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो। उसका लागि डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए।

यस्तै, कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ रन बनाउँदा लुआन ड्रे प्रिटोरियसले ४० रनको योगदान दिए। बलिङमा वेस्टइन्डिजका नाथन सेलीले ३ तथा नाथन एडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए।

अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो। १०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

आयरल्यान्डका लागि रयान हन्टरले ६३ बलमा ५ चौकासहित ५० रन बनाउँदा केन हिल्टन र फिलिफुस ले रक्सले समान २३ रन बनाए। अमेरिकाका अर्या गर्गले २ विकेट लिए।

पहिला ब्याटिङ गरेको अमेरिका ४०.२ ओभरमा १०५ रनमै अलआउट भएको थियो। उसका खुश भलालाले सर्वाधिक २२ रन बनाए भने अन्यले गतिलो योगदान दिनसकेनन्। आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले समान ३ विकेट लिए।

प्रतियोगितामा आज भारत र बंगलादेश, इंग्ल्यान्ड र स्कटल्यान्ड तथा अफगानिस्तान र पाकिस्तान खेल्नेछन्।