आईपिएलमा १४ वर्षीय वैभवको ड्रिम डेब्यू, पहिलो बलमै हाने छक्का

20 Apr, 2025

इन्डियन प्रिमियर लिग (आईपिएल) मा शनिबार नयाँ इतिहास रचिएको छ। बिहार समस्तीपुरका १४ वर्षीय वैभव सूर्यवंशीले आईपिएलमा डेब्यू गरे।

उनले सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्सका लागि लखनऊ सुपर जायन्ट्सविरुद्ध डेब्यूको अवसर पाए।

आईपिएलका इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका वैभवले आफ्नो डेब्यूलाई सम्झन लायक बनाए। शनिबार उनी १४ वर्ष २३ दिनका मात्र भएका थिए। यसअघि आईपिएल खेल्ने कान्छा खेलाडी प्रायस रे बर्मन थिए। उनले २०१९ मा १६ वर्ष १५७ दिनमा डेब्यू गरेका थिए।

पहिलो बलमै छक्का, बन्यो चर्चा

वैभवले आफ्नो डेब्यूलाई अविस्मरणीय बनाए। उनले लखनऊ सुपर जायन्ट्सका अनुभवी बलर शार्दुल ठाकुरको पहिलो बलमा नै शानदार लफ्टेड कभर ड्राइभ हिर्काउँदै छक्का प्रहार गरे। यो क्षणले स्टेडियममा उपस्थित दर्शक र सामाजिक सञ्जालमा तहल्का मच्चायो।

उनले आफ्नो तेस्रो बलमा पनि आवेश खानको बलमा अर्को छक्का हाने, जसले उनको आत्मविश्वास र प्रतिभालाई प्रष्ट्याउँछ। यो उपलब्धिसँगै उनी आईपिएलमा पहिलो बलमा छक्का हान्ने १०औं खेलाडी बने।

डेब्यूमा प्रभाव

वैभवले यशस्वी जायसवालसँग राजस्थानको इनिङ ओपनिङ गरे। जसमा उनले २० बलमा ३४ रनको आक्रामक पारी खेले। उनको पारीमा ३ छक्का र २ आकर्षक बाउन्ड्रीहरू समावेश थियो। उनी नवौं ओभरको चौथो बलमा एडेन मार्करमको बलमा रिषभ पन्तबाट स्टम्पिङ भए। उनी पभेलियन फर्कँदा निकै निरास देखिएका थिए।

उनले पहिलो विकेटका लागि जैसवालसँग ८५ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए।

कसरी सम्भव भयो डेब्यू?

राजस्थान रोयल्सका नियमित कप्तान सञ्जु स्यामसन चोटका कारण लखनऊविरुद्धको खेलमा उपलब्ध थिएनन्। उनको स्थानमा रियान परागले कप्तानी सम्हाले, र वैभवलाई इम्प्याक्ट सब्स्टिट्युटको रूपमा टोलीमा समावेश गरियो। टसमा परागले वैभवको समावेशबारे जानकारी दिँदै उनको प्रतिभामाथि विश्वास व्यक्त गरेका थिए।

यो अवसरले वैभवलाई विश्वको सबैभन्दा ठूलो क्रिकेट लिगमा आफूलाई प्रमाणित गर्ने मौका दियो। र, उनले त्यसलाई खेर जान दिएन।

वैभवको पृष्ठभूमि र उदय

वैभव सूर्यवंशी बिहारको ताजपुरमा सन् २०११ मा जन्मिएका हुन्। उनले ९ वर्षको उमेरदेखि आफ्ना पिताको प्रशिक्षणमा क्रिकेट खेल्न सुरु गरेका थिए। १२ वर्षको उमेरमा उनले २०२४ मा रणजी ट्रफीमा मुम्बईविरुद्ध बिहारका लागि डेब्यू गरेका थिए। जुन बिहारको घरेलु क्रिकेटमा दोस्रो सबैभन्दा कम उमेरको डेब्यू थियो।

उनको चर्चा २०२४ मा भारतको यू १९ टोलीबाट अस्ट्रेलियाविरुद्ध अनौपचारिक टेस्टमा ५८ बलमा शतक बनाएपछि चुलिएको थियो। यो शतक यू १९ टेस्टमा दोस्रो सबैभन्दा छिटो शतक थियो। उनले कोच बिहार ट्रफीमा झारखण्डविरुद्ध १२८ बलमा १५१ रनको पारी पनि खेलेका थिए, जसले उनको ठूलो स्कोर बनाउने क्षमता देखाएको थियो।

आईपिएल आगमन र अक्सन

वैभवलाई राजस्थान रोयल्सले मेगा अक्सनमा १.१ करोड रुपैयाँमा खरिद गरेको थियो। १३ वर्षको उमेरमा उनी अक्सनमा सहभागी हुने र टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडी बने। दिल्ली क्यापिटल्सले पनि वैभवमाथि चासो देखाएको थियो। तर, अन्त्यमा उनी राजस्थान पुगेका थिए।
राजस्थानले यसअघि पनि थुपै युवा खेलाडीमा लगानी गरेको छ।

भविष्यको सम्भावना

वैभवको यो डेब्यू उनको क्रिकेट करियरको सुरुवात मात्र हो। उनको ब्याटिङ शैली, आत्मविश्वास र ठूलो शट खेल्ने क्षमताले उनलाई भविष्यको सम्भावित स्टारका रुपमा हेरिएको छ। तर, उनले त्यसका निरन्तर मेनहनत भने गर्नुपर्छ। र, पाएको मौकालाई सदुपयोग गर्नुपर्छ।

राजस्थान रोयल्सका प्रशिक्षक राहुल द्रविडको मार्गदर्शनमा वैभवले आफ्नो प्रतिभालाई थप निखार्ने अवसर पाउनेछन्। उनको यो प्रदर्शनले उनलाई भारतको यू १९ टोलीमा पनि स्थान पक्का गरेको छ। क्रिकेट विश्लेषकहरूले उनलाई आगामी दिनमा ठूलो स्टारको रूपमा हेर्न थालेका छन्।

०००

वैभव सूर्यवंशीको आईपिएल डेब्यू केवल एक खेलाडीको पहिलो खेल मात्र होइन, यो भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात हो। १४ वर्षको उमेरमा यति ठूलो मञ्चमा आफ्नो छाप छोड्नु उनको असाधारण प्रतिभाको प्रमाण हो। बिहारको यी युवा खेलाडीले आफ्नो पहिलो खेलमै विश्वलाई आफ्नो सम्भावना देखाएका छन्, र अब सबैको नजर उनको आगामी प्रदर्शनमा हुनेछ।

– एजेन्सहरुको सहयोगमा